DSUK Annual General Meeting 2019

Published by admin on

धरान समाज युकेको बार्षिक साधारण सभा

धरान समाज युकेले गत साता १६ मार्च २०१९ शनिबारको दिन साउथ ह्यारो लण्डन अवस्थित राफा विण्ड्सक क्लबमा समाजको अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा बार्षिक साधारण सभा विभिन्न बिषयहरुमा केन्द्रित रही सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको ठिक ४ बजे शुरु भएको बैठकलाई समाजको महासचिव खड्काहाङ्ग लिम्बुले सेफ्टी ब्रिफिंग अनि केहि महिना अघि मात्र दिवंगत हुनु भएकी धरान समाज युकेकी पूर्व कोषाध्यक्ष सुश्री उमादेबी गुरुङको योगदानको चर्चा गर्दै दिवंगत आत्माको चिरशान्तिको निम्ति १ मिनट मौनधारण गरि कार्यक्रमलाई अघि बढाएका थिए ।

अध्यक्ष सूर्यमान गुरुङले उपस्थित हुनु भएको सम्पूर्ण कमिटिका सदस्यहरु साथै अन्य सदस्यहरुलाई व्यस्तताको बाबुजद पनि आजको बैठकमा उपस्थित भईदिएको खण्डमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस पश्चात महासचिवले धरान समाज युकेले गत बर्ष आयोजना गरेको सम्पूर्ण कार्यक्रम अथवा गतिबिधिहरुको प्रगति बिवरण पेश गरेका थिए जसलाई बैठकमा उपस्थित सम्पूर्णले तालि बजाएर अनुमोदन गरेका थिए ।

त्यस्तै अर्को प्रगति बिवरण पेश गर्ने क्रममा समाजकी कोषाध्यक्ष मिरा गुरुङले गत बर्षको समाजमा भएको आय/व्ययको प्रगति बिवरण पेश गरेकी थिइन् र यसलाई पनि उपस्थित सम्पूर्ण सदस्यहरुले तालि बजाएर समर्थन गर्दै अनुमोदन गरेका थिए ।

त्यस्तै अर्को बिशेष जानकारी दिने क्रममा पूर्व अध्यक्ष अथवा धरान आकासे पुलको प्रमुख संयोजक उमेशराज मोक्तानले ‘धरान समाज युकेले धरानको भानु चोकमा निर्माण गर्ने भनिएको आकासे पुल’ बिबिध कारणहरुले गर्दा निर्माण गर्न असमर्थ रही गत बर्ष देखि सम्पूर्ण रुपमा स्थगित गरि त्यस कार्यको लागि उठाएको चन्दारकम चन्दादाताहरुलाई नै फिर्ता गराएको जानकारी दिनु भएको थियो ।

अन्य बिषयहरुमा छलफल र जानकारी दिने क्रममा उपाध्यक्ष्य रमेश लिम्बुले हाल धरान ईलाका प्रहरी कार्यालयको मातहतमा निर्माण भैरहेको ‘हिरासत भवन’ को निम्ति धरान समाज युकेलाई एउटा कोठा निर्माणको निम्ति सहयोगको अनुरोध आएको अनि सम्बन्धमा समाजले विभिन्न साधन र स्रोत प्रयोग गरि सहयोग रकम जुटाई रहेको साथै अरु इच्छुक चन्दादाताहरुलाई पनि सहयोगको निम्ति अपिल गर्नु भएको थियो ।

त्यस्तै अर्को जानकारी दिने क्रममा समाजको सल्लाहकार तथा पूर्व अध्यक्ष राजेन लिम्बुले हाल धरान उपमहानगरपालिकाको वडा नम्बर २० मा निर्माणधीन अवस्थामा रहेको ‘ब्रिटिश गोर्खा स्मृति पार्क’ को काम धमाधम भैरहेको साथै यसको सहयोगको निम्ति ईच्छुक चन्दादाताहरुले अझै पनि चन्दा दिन सक्ने अवस्थाको जानकारी दिदै समाजको हित अनि सुधारको निम्ति केहि आवश्यक बुँदाहरु प्रस्तुत गर्नु भएको थियो ।

अन्तमा, एजेण्डामा रहेको सम्पूर्ण बुँदाहरुमा आवश्यक छलफल अनि केहि महत्वपुर्ण निर्णय गर्दै साँझको ७:०० बजे त्यसदिनको बैठक समाप्त भएको घोषणा गर्दै समाजको अध्यक्ष सूर्यमान गुरुङले उपस्थित हुनु भएको सम्पूर्णलाई फेरी पनि हार्दिक आभार प्रकट गर्दै यहि आउने १५ जुन शनिबारको दिन फेल्थाम कलेज लण्डनमा आयोजना गरिने ‘धराने भेला” मा उपस्थित भईदिन हार्दिक अनुरोध पनि गर्नु भएको थियो ।

त्यसपछि भने, केहि जलपानको साथ क्रन्दन राईको संयोजकत्वमा तैयार गरिएको ‘फ्रेश पोर्क मेसिङ्ग’ को स्वाद लिदै बेलुकीको डिनरको क्रम चलेको थियो र अन्तमा केहि हल्का फुल्का धराने स्टाइलमा ”ज्यामिंग अप” गर्दै केहि नाचगान रमाइलो गरे पछि रातको ११ बजे सबैजना आआफ्नो गन्तब्यतिर लागेका थिए ।


जय धरान समाज युके !!!